आमा

बलदेव खड्का
चिलंखा-बत्तिसपुतली

आमा एक महान् व्यक्ति हुन जसले हामीलाई यस सुन्दर पृथ्वीमा जन्म दिएकी छन् । उनी हाम्रो जीवनको अनमोल रत्न हुन् । वास्तवमा यस संसारमा सन्तानको लागि आमा भन्दा ठूलो केही रहेनछ । आमा विनाको टुहुरो अवस्था कहाली लाग्दो हुने रहेछ । आमा एउटा यस्तो शब्द हो जसको उच्चारण गर्दा हामीलाई न्यानो पनको आभाष हुन्छ । हामीले यस धर्तीमा आएपछि उच्चारण गर्ने पहिलो शब्द पनि आमा नै हो । हामी जुनसुकै उमेरको भएता पनि आज पनि हाम्रो शरीरमा सानो घाउ लाग्दा मुखमा आउने पहिलो शब्द आमा नै हो । आमा ममता र करुणाकी महासागर हुन । मायाको पोको हुन् ।धैर्यताको प्रतिमूर्ति हुन । सहनशीलताको खानी हुन् । आमा नै हाम्रो पहिलो शिक्षिका हुन् । सल्लाहकार हुन् । हाम्रो पीडाको सारथी हुन् । हाम्रो पहिलो औषधी हुन् अनि हाम्रो अध्यारोकी दीप हुन् । आमाले नै हामीलाई आफ्नो गर्भमा राखेर पीडा सहन्छिन् । हामीलाई यस संसार देखाउछिन् । दुःखलाई विर्सेर काखमा राखेर पालनपोषण गर्छिन् । शिक्षा दीक्षा दिन्छिन् । हामीलाई समर्थवान बनाउछिन् । अनि सन्तानको खुसीमा मुस्कुराउछिन् । कठिन प्रशव वेदनापछि वच्चा पैदा भई जव बच्चा चिहा चिहा गरी रुन थाल्छ तव सन्तान प्राप्तिको खुसीले आमा रमाउछिन् अनि मुस्कुराउछिन् । त्यसैले होला भारतका पूर्व राष्ट्रपति एवं वैज्ञानिक अब्दुल कलामले भनेका थिए – “जीवनमा एक दिन मात्र त्यस्तो दिन हुन्छ जुन दिन सन्तान रुदा आमा मुस्कुराछिन् । त्यसपछि त्यो दिन जीवनमा कहिलै आउँदैन कि एक सन्तान रुदा आमा मुस्कुराउन ।” अब्राहम लिंकनले भनेका थिए – जो मानिसको साथमा ममतामयी आमा हुन्छिन ऊ कहिले गरीव हुँदैन ।” आमाले सबै ठाउँ लिन सक्छिन् तर एउटी आमाको ठाउँ कसैले लिन सक्दैन । सन्तानको लागि आमा भन्दा ठूलो केही हुँदैन । आफ्नो जीवनमा कयौँ रहर, आवश्यकता र उद्देश्य मारेर पनि सन्तानको मुस्कानमा आमा खुशी रहन्छिन् । सन्तानलाई औंला समाएर स्कूल लगेको पहिलो दिन अनि आमाले सिकाएको पहिलो अक्षर र सन्तानले पहिलो पटक कोरिएको किरीमिरी अक्षरमा मुस्काएको आमाको मुस्कान जुन सवभन्दा प्रिय हुन्छ । कसैको सफलतामा सवभन्दा बढी खुसी हुने पहिलो व्यक्ति आमा नै हुन्छिन् । संसारमा हरेक व्यक्तिको केही न केही स्वार्थ हुन्छ तर आमाले सन्तान प्रति निःस्वार्थ प्रेम हुन्छ । आमाको सन्तान प्रतिको  मायाको एक प्रचलित भनाई छ – “एउटा छोराले आफ्नो बुढी आमालाई बोझ सम्झेर भीरबाट लडाएर मार्न डोकोमा हालेर भीरको टुप्पोमा लगेछ र भीरबाट लडाउन तयार भएछ । त्यति नै वेला आमाले छोरालाई माया गर्दै भनिछन् – “हामी आएको बाटो अप्ठेरो छ फर्किदा विस्तारै जा हैं ।” यसबाट के सन्देश पाइन्छ भने आफूलाई मार्न लागेको छोराप्रति पनि आमाको कति धेरै माया हुँदो रहेछ । अनि छोरा कतिसम्म निष्ठुरी पनि हुँदा रहेछन् । सन्तान जीवनमा असफल हुँदा होस् वा सन्तानले ठूलो दुःख पाउँदा होस्, चाहे सन्तान कुलतमा लाग्दा होस् सन्तानको हरेक गलत कार्यमा पहिलो पीडा आमालाई नै हुन्छ । सन्तानको खुट्टामा काँडाले खोच्दा जसको मुटुमा चस्स पोल्छ, त्यो आमा नै हो । सन्तान हाँस्दा सँगै हाँस्ने रुदासँगै रुने यो संसारमा केवल आमा मात्र हुन्छिन् । आÇना सन्तान गुमाएको पीडा आमालाई असह्य हुन्छ । जसलाई शब्दमा वर्णन गर्न नै कठिन हुन्छ । हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखिएको छ । “मातृ देवो भव” भनिएको छ । आमाले जस्तै सन्तानले पनि आफ्नो आमालाई प्रेम गरुन भन्ने हाम्रो धर्मको मुल मर्म रहेको छ । हाम्रो धर्म शास्त्रमा आमाको कर्तव्य र छोरा छोरीले गर्नुपर्ने आचरण समेत उल्लेख गरिएको छ । वाल्यकालमा दुःख कष्ट एवं विभिन्न हण्डर खाएर सन्तानलाई हुर्काएकी आमालाई वृद्ध अवस्थामा सन्तानले पनि त्यसरी नै स्याहार गरुन् भन्ने धर्म शास्त्रको आसय देखिन्छ । नेपालको सन्दर्भमा आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै देखिन्छ । घरबाट टाढा जादा र टाढाबाट घर आउदा आमालाई ढोग गरी आशिर्वाद लिने चलन छ । यस प्रचलनले आमा उनका सन्तान बीच माया बढ्ने र व्यक्तिको आचरणमा पनि सुधार हुने देखिन्छ । पश्चिमी संस्कारमा अशक्त आमा बाबुलाई घरमा राख्दा स्याहार–सुसार नपुग्ने देखि स्याहार केन्द्रमा राख्ने प्रचलन बढ्दै गएको छ । हाम्रो नेपालमा भने सकभर वृद्ध आमा बाबुलाई घरमा नै राखेर हेरचाह गर्ने यदि वाध्यात्मक अवस्थामा मात्र स्याहार केन्द्रमा राख्ने चलन छ । नेपालमा व्यवस्थित स्याहार केन्द्र तथा वृद्धा आश्रमको कमी नै छ । अव विस्तारै यसको विस्तार हुने क्रम जारी छ । सन्तानले आमालाई माया गर्ने हाम्रो राम्रो संस्कारमा विकृति आउन थालेका छन् । वर्तमान समाजमा सन्तानले आमालाई गर्ने व्यवहारलाई चित्रण गर्दा त्यति सुखद देखिदैन । कतिपय ती भाग्यमानी आमा होलान् जसलाई सन्तानले सुख, शान्ति दिएका होलान् । सेवा गरेका होलान् तर धेरै त्यस्ता आमाहरु पनि छन् जसले सन्तानबाट असल व्यवहार पाएका छैनन् । आÇना सम्पूर्ण जीवन सन्तानको लागि गुमाएकी आमालाई पनि छोराहरुले सम्पतिको लागि अनेक मुद्धा र हर्कत गरेको देखिन्छ । दुःख दिएको देखिन्छ । भोलि आफू पनि त्यही स्थितिमा पुग्न सक्ने कुरा सन्तानले बिर्सिएको देखिन्छ । अझ समाजमा वृद्ध आमालाई सन्तानले परिवारको बोझको रुपमा लिन थालेका छन् । आमाको कुरा नमिठो लाग्न थालेको छ । आमाको सबै सम्पति आफ्नो कब्जामा राखेका छन् । सरकारले दिएको वृद्ध भत्ता समेत आमालाई खर्च गर्न नदिई आफैंले लिएको कतिपय ग्रामीण क्षेत्रमा देखिन्छ । वाल्यकालमा आमालेआफ्नो सन्तानलाई केही नहोस् भनेर चोविसै घण्टा स्याहार्छिन तर आज सन्तानले आमाको लागि एक घण्टा निकाल्न पनि सक्दैनन् । जसले हामीलाई यो धर्तिमा ल्यायो आज हामी त्यही आमालाई भुलिरहेका छौं । आफू भोकै बसेर भोक छैन भन्ने आमालाई हामीले नमिठो व्यवहार गरि रहेका छौं । बाल्यकालमा त्यही अमाको आवाज मधुर लागेकोमा आज बुढेशकालमा त्यही आवाज कर्कस लाग्न थालेको छ । वाल्यकालमा सन्तानलाई काँडाले घोच्दा आमाको दिलमा घाउ लाग्दथ्यो तर आज कतिपय सन्तानको तीखो वचनले आमाको दिलमा घाउ लागेको छ । हिजो सन्तानको लागि दुःखको पहाड बनाएकी आमा आज सन्तानका लागि बोझ बनेकी छन् । आफैंले बनाएको घरबाट निकालीएकी छन् । मागेर खाने स्थितिमा पुगेकी छिन् । उच्च पदमा पुगेका र आर्थिक अवस्थाले सम्पन्न सन्तानबाट पनि आमा अपहेलित छन् । वाहिरबाट हेर्दा सुखी देखिएमा पनि मनभित्र पिडा बोकेकी हुन्छिन् । वाचुन्जेल राम्ररी खान लाउन नदिने मीठो वोली नगर्ने अनि मरेपछि आमाको प्रशंसा गर्दै समाजमा आडम्बर देखाउदै धेरै खर्च गरेर दान दक्षिणा दिने सन्तान पनि हाम्रै समाजमा प्रशस्त छन् । हामी हिजो केटाकेटी थियौं । आज हामी वयस्क छौं । भोलि हामी सबै वृद्ध हुने छौं भन्ने यी भावनालाई आत्मासात गरी हामी आमाको सेवा गर्ने कार्यमा लागौं । प्रकृतिको नियम हो । वृद्धावस्थामा हामीले बोलेको धेरै कुरा विर्सन्छौ र दोहो¥याउन सक्छौं । त्यस कुरालाई मनन गरी आमाको दोहोरिएको कुरालाई पनि हामीले धैर्यताका साथ झिजार नमानी सुनिदिउ । वृद्ध अवस्थामा आमाालाई सन्तानबाट सम्पत्तिको भन्दा मिठो मायाको खाँचो छ । मिठो बोलु । आमालाई खुसी राखौं । आमा सहनशीलताको प्रतिमूर्ति हुन् । उनलाई नगिजाउ । आमाको मुटुमा छियाछिया हुने गरी कहिले पनि कठोर शब्द प्रयोग नगरौं । हामीले पैसाले हरेक सुविधा किन्न सक्छौं तर आमा र आमाको ममता किन्न सक्दैनौं । त्यसैले आमाको सम्मान गरौं । सेवा गरौं र आशिर्वाद प्राप्त गरौं । आफ्नो सन्तानको लागि आफ्नो संसार भूलिदिने ती सम्पूर्ण आमालाई हामीले पूजनीय रुपमा लिउ । संसारमा सबभत्न्दा ठूलो श्राप आमाको आँसु हो । सन्तानको अपहेलनाको कारण आमाको आँखामा आउन नदिउ । आमालाई माया गरौं । सेवा गरौं ।

By | 2023-08-17T08:03:23+00:00 August 17th, 2023|लेख तथा रचना|